News

सुशासन र संचार सम्बन्धी कार्यशाला सम्पन्न

काठमाण्डौ, असार १६ ।

भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रबद्र्धनका लागि मिडियाको भूमिकाको बारेमा राजधानीमा आयोजित  दुई दिवसीय कार्यशाला असार १६ गते सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सुचना आयोगमा प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले नेपाली मिडियाले सुचनाको अधिकार प्रयोग गरेर भ्रष्टाचार र सुशासन सम्बन्धी महत्वपूर्ण विषय उठान गर्न सक्ने ताउनु भयो । उहाँले राष्ट्रिय सूचना आयोग स्थापना भएयता केवल २ हजार ४ सय मात्र सूचनाको माग भएको रेकर्ड आयोगसंग रहेको बताउँदै मिडिया आफैले पनि सूचना माग गर्नु पर्ने र आम नागरिकलाई पनि यसको बारेमा बुझाउँनु पर्ने आवश्यकता रहेको बताउनु भयो । बरिष्ठ पत्रकार ध्रुबहरी अधिकारीले आम नागरिकले सुशासन र भ्रष्टाचारका विषयवस्तुहरु मिडियाबाट अपेक्षा गरेको तर यस्ता मुद्दाहरुले मिडियामा त्यति सजिलै प्रवेश नपाएको अन्तर्राष्ट्रिय अनुभव समेत रहेको बताउँदै यसले गर्दा मिडियाको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको धारणा राख्नु भयो । उहाँले भारतबाट पठाइएको मोसान्टोको समाचार अमेरिकाको सिकागो ट्रिब्यूनले समेत विज्ञापनदाताबाट प्रभावित भएर  किल गरेको तथ्य अघि सार्दै भन्नु भयो : यस किसिमका व्यवधानहरु भए पनि मिडियामा भ्रष्टाचार र सुशासनका सवालहरु निरन्तर उठ्नु पर्ने बताउनु भयो । विकास संचार समाजका अध्यक्ष वरिष्ठ संचारविद् लालदेउसा राईले विभिन्न जिल्लामा सुशासन र भ्रष्टाचारका फरक फरक  किसिमका अनुभवहरु भएकाले यस किसिमको छलफलबाट सुशासनका बारेमा मिडियाले गर्नु पर्ने र सिक्नु पर्ने साझा एजेण्डाहरु तय गर्न सहयोग पुग्ने धारणा राख्नु भयो । उहाँले यी मुद्दाहरु मिडियामा उठान गर्न अति आवश्यक रहेको भन्दै  यसमा पत्रकारको अध्ययन,ज्ञान र सीप विकासको पनि जरुरी रहेको धारणा राख्नु भयो ।  वरिष्ठ संचारविद् रामकृष्ण रेग्मीले मिडिया, सुशासन र नागरिक संलग्नता सम्बन्धीको कार्यपत्र प्रस्तुत गर्दै सुशासन र भ्रष्टाचारका विषवस्तु उठानमा  नेपाली मिडियाको हालको अवस्था, भएका प्रयास र आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा विश्लेषण गर्नु भयो । उहाँले यस सम्बन्धमा प्रयासलाई सन्तोषजनक मान्न सकिए पनि पर्याप्त नभएको बताउनु भयो ।  



संचारविद् एवं विकास संचार समाजका कार्यकारी निर्देशक डा. पीयूषराज मिश्रले प्रसारण माध्यमहरुले सुशासन र भ्रष्टाचारका सवालाई प्राथमिकता दिने क्रम बढेको तर उनिहरुको क्षमता विकासका लागि अझै काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । पत्रकार बिमल गौतमले नेपाली मिडियाको विश्वसनीयताको स्तर खस्किएको भन्दै आम नागरिकले विश्वास गर्ने संचार माध्यम बनाउन हामीले पत्रकारहरुले धेरै मेहनत गर्नुपर्ने बताउनु भयो । यसका लागि खासगरी सम्पादकहरु विवेशकशील र जिम्मेवार हुनु पर्ने उहाँको जोड थियो ।



उक्त कार्यशालामा धनकुटा, मकवानपुर, पोखरा, मोरंग, सुर्खेत र काठमाण्डौका गरी २६ जना रेडियो तथा टेलिभिजन पत्रकारहरु सहभागि थिए । उनिहरुले आफ्नो ठाउमा र संचार माध्यममा सुशासनका विषयवस्तु उठान गर्दाको अनुभव र यस्ता विषय उठान गर्दा समाजमा परेको प्रभावको बारेमा धारणा राखेका थिए । उनिहरुले सुशासनको विषय आम नागरिकका लागि प्रत्यक्ष सरोकारको विषय भएको तर मोफसलका पत्रकारका लागि यो विषयको पर्याप्त ज्ञान र विषय उठानको सीप नभएकाले यस्तो विषयको प्राथमिकता र प्रभावकारीता कार बारेमा जान्न यस्ता कार्यशालाहरु उपयोगी हुने बताएका थिए । साझेदार संस्थाहरु सेन्टर फर मिडिया फ्रिडम र एनसिसिआरका साथ विकास संचार समाज नेपालले उक्त कार्यशाला आयोजना गरेको थियो ।