नेपालगञ्जमा सुशासन तथा भ्रष्टाचारको खोजी सम्बन्धी तालिम सम्पन्न

पत्रकारहरुलाई सुशासन तथा भ्रष्टाचार सम्बन्धी विषयवस्तुको बुझाई तथा खोजी दक्षता बढाउन नेपालगञ्जमा दुई दिन तालिम सञ्चालन गरिएको छ ।
डोटी, कैलाली, बाँके, सुर्खेत र दाङ जिल्लाका १८ जना संचारकर्मीको सहभागिता रहेको उक्त तालिम सैद्धान्तिक र प्रयोगात्मक विधिमा आधारित थियो ।
तालिमको पहिलो दिन अधिकार सम्पन्न स्थानीय सरकार र सुशासन, भ्रष्टाचार न्यूनिकरणमा संचार माध्यमको पहरेदारी भूमिका, सुशासनका लागि नागरिक संलग्नता बढाउन संचारकर्मीले खेल्न सक्ने भूमिकाको विषयमा विज्ञहरुमार्फत् प्रस्तुतिसहितका छलफलहरु भएका थिए ।
दोस्रो दिन सहभागिहरुलाई समूहमा विभाजन गरी सुशासनका विषयमा सामूहिक समाचार तयार गर्ने र त्यसमाथि विज्ञहरुमार्फत सुधारका लागि सुझावहरु दिने प्रयोगात्मक कार्यक्रम संचालन गरिएको थियो ।
प्रयोगात्मक सेसनको टीप्पणी गर्नेहरुमा रेडियो पत्रकार तुला अधिकारी, खोज पत्रकार कलेन्द्र सेजुवाल र विकास संचार विज्ञ डा. पीयुषराज मिश्र रहेका थिए ।
सुशासन बारेमा तीन वर्ष भन्दा बढी सयम देखि रिर्पोटिङ गर्दै आएका पत्रकारहरुको संलग्नता रहेको उक्त तालिम विषय वस्तुको ज्ञान बढाउने र खोजी सीप तथा लेखन सीपको दक्षता बढाउनका लागि उपयोगी भएको सहभागिहरुले बताए ।
विषयवस्तुको दृष्टिले स्थानीय तह पुनर्संरचना पछिको स्थानीय सुशासनलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा तालिम मूलरुपमा केन्द्रित थियो । यो विषय स्थानीय तह पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले प्रस्तुती राख्नुभएको थियो । मध्यपश्चिम क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गरेका भ्रष्टाचार निवारण सम्बन्धीका काम र त्यस प्रक्रियामा संचार क्षेत्रले खेलेको भूमिकाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहोलपुर कार्यालयका प्रमुख कुबेर कठायतको प्रस्तुतिपश्चात गहन छलफल गरिएको थियो ।
गभर्नेन्स फेसिलिटीको सहयोगमा विकास संचार समाज नेपाल, सेन्टर फर मिडिया फ्रिडम र एनसिसिआर मार्फत संचालित सुशासन लागि नागरिक संलग्नता सुदृढिकरण परियोजना अन्तर्गत विकास संचार समाज नेपालले कार्यक्रम आयोजना गरेको थियो ।
तालिमको उदेश्य सहभागि सञ्चारकर्मीलाई निरन्तररुपमा सुशासनको विषयहरु उठाउन प्रेरित गर्ने र यो विषयमा उनीहरुको दक्षता बढाउने रहेको छ ।
यसका लागि सहभागि सम्पूर्ण संचारकर्मीलाई विभिन्न किसिमको लेखनवृत्ति तथा परामर्श सेवा सहयोगमार्फत् यो विषयमा काम गर्न उनिहरुलाई प्रेरित गरीने तालिम संयोजक प्रकाश घिमिरेले बताए ।